जीतपुरसिमरा १४ रजघट्टामा महाशिवरात्री पर्वको मेला लाग्दै


eShilalekh

२४ फाल्गुन २०८०, बिहीबार १८:५१

सिमराः महाशिवरात्री पर्वको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित शिवमन्दिरमा यतिबेला शुक्रबार हुने मेलाको तयारी भईरहेको छ । रामजानकी मठ व्यवस्थापन समितिको आयोजना र स्थानीयबासीको सहभागितामा मेलाको तयारी भईरहेको हो ।

प्रत्येक वर्ष महाशिवरात्रीमा लाग्दै आएको उक्त मेलालाई यस वर्ष विशेष बनाउन मन्दिर समिति, वडा कार्यालय, स्थानीय उत्साहित भएर लागेका छन् । मेलाका लागि अहिले मन्दिर वरपरको क्षेत्रमा भगवान शिवको चित्र अंकित झण्डा राखिएको छ भने मन्दिर क्षेत्रमा सरसफाई भईरहेको छ ।

मेलाको तयारीमा जुटेका स्थानीय युवा प्रताप रिजालले यस वर्षको मेलालाई भव्य बनाउन स्थानीय उत्साहित भएर लागेको बताए । यता स्थानीयको उत्साहमा जनप्रतिनिधिले पनि साथ दिएका छन् । जीतपुरसिमरा १४ का वडासदस्य यमनाथ ढकालले मेलालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न वडा कार्यालयले भूमिका निर्वाह गरिरहेको बताए ।

जीतपुरसिमरा १४ रजघट्टामा २०२५ सालमा स्थापना भएको शिवमन्दिर जिर्ण भएपछि २०५४ सालमा नयाँ मन्दिर निर्माण गरिएको छ । स्थानीयका अनुसार उक्त मन्दिरमा प्रत्येक वर्ष शिवरात्रीका दिन मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्