जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत्र २४ गतेदेखि


eShilalekh

१८ चैत्र २०८०, आईतवार १७:३८

सिमराः मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत्र २४ गतेदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले आइतबार सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठद्धारा उद्घाटन हुने प्रतियोगितामा यसपटक ए डिभिजनका ५ सहित १० टिमले सहभागिता जनाउने भएका छन् । आयोजकका अनुसार प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाइटेड, मछिन्द्र फूटबल क्लब, फ्रेण्ड्स क्लब, विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मोफसलका वीरगन्ज युनाइटेड क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, सलहेश युवा क्लब सिरहा र आयोजक सहभागी हुनेछन् ।

अघिल्ला वर्षजस्तै फ्लड लाइटमुनी हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । बैशाख ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन् ।

प्रतियोगितामा यसपटक विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार मात्रै दिईने भएको छ । एन्फाको सुझाव अनुसार विधागत पुरस्कार कटौती गरिएको बताउँदै अध्यक्ष लामाले विधागततर्फ उत्कृष्ट भएका खेलाडीले २५ हजार नगद पाउने जानकारी दिए । प्रतियोगिताको उदयीमान खेलाडीले १५ हजार नगद हात पार्नेछन् भने प्लेयर अफ दि म्याचले १० हजार नगद पाउनेछन् । प्लेयर अफ दि म्याचको पुरस्कार शुभारम्भ कलेजले प्रायोजन गर्ने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितालाई नेपोभिट टायल्स, हुलास स्टील्स्, सुर्य नेपाल, यती एयरलाईन्स, सगरमाथा इन्स्योरेन्स, युआर अटोमेटिक लण्ड्री, एलएस न्युरो, स्टार अस्पताल, सुसप्त मेडिकल, बोटलर्स नेपाल, होटल तथा पर्यटन व्यवसायी संघले सहयोग गर्नेछन् । यसैगरी राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फूटबल संघ, बारा जिल्ला फूटबल संघले प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

एक करोड तीन लाख अनुमानित बजेट रहेको प्रतियोगिताका खेल हेर्न आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट र अपांगता तथा ७० वर्षमाथिका बृद्धबद्धालाई निःशुल्क प्रवेश गराईने महासचिव ठकुरीले पत्रकार सम्मेलनमा जानकारी दिए । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सिमरा रंगशालामा फुड स्टल रहने बताइएको छ ।

क्लबका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जगदम्बा स्टील्स्का प्रशासकीय अधिकृत कुमुद ढकाल, बारा जिल्ला फूटबल संघका महासचिव रामकृष्ण श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष राजकुमार भट्टराई, क्लबका सल्लाहकार दिनेश राई, सुमन भट्टराई, कासिम हुसेन, इन्द दुलाल, किशोर त्रिपाठी, धनबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, क्लबका बरिष्ठ उपाध्यक्ष शंकर थापा, उपाध्यक्ष राजदास श्रेष्ठसहित क्लबका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्