अनलाइन ठगी धन्दामा सक्रिय तीन चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ


eShilalekh

१८ चैत्र २०८०, आईतवार १८:५९

सिमराः अनलाइनमार्फत ठगी धन्दा चलाउदै आएका तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ परेको छ । वीरगन्ज महानगरपालिका १५ स्थित नन्दु पटेलको घरबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिन हुवानका लुइ गुइ काइ, हुवेईका वाङ बोहङ र छिएङ छिआओ रहेका छन् । अनलाइन ठगी धन्दाको गिरोहका रुपमा सक्रिय देखिएका उनिहरुको साथबाट प्रहरीले ठुलो परिमाणमा कम्प्युटर, ल्यापटप, मोबाइल, सिमकार्डलगायतका सामाग्री बरामद गरेको छ ।

पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाका अनुसार उनिहरुले ठगी धन्दा संचालन गर्दै आएका स्थानबाट कम्प्युटरको सिपियु एक सय २० थान, मोनिटर एक सय १८ थान, मोबाइल ३५ थान, ल्यापटप चार थान, भारतिय जिओ सिमकार्ड १३ थान, प्रिन्टर, इन्भटर, एटीम कार्ड, भारतीय नम्बरको गाडी, नेपाली नम्बरको मोटरसाइकल, नेपाली, मलेसिया र कम्बोडियाको मुद्रालगायतका सामाग्री वरामद गरिको हो ।

उनिहरुले अनलाइन लोटरी, सपिङको नाममा ठगी धन्दा चलाइरहेका थिए । चिनिया नागरिकलाई पक्राउ र सामाग्री बरामद गरेको प्रहरीले व्यवस्थितरुपमा संचालनमा रहेको उक्त ठगी धन्दाको विषयमा केही खुलाएको छैन । उक्त ठगी धन्दामा अरु को संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता थापाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्