जीतपुरसिमरा उपमहानगरले मनायो ६७ औं राष्ट्रिय सहकारी दिवस


eShilalekh

२१ चैत्र २०८०, बुधबार १४:३०

बाराः जीतपुरसिमरा उपमहानगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा मनाईएको छ । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने मुल नारा सहित आयोजीत सहकारी दिवस मंगलबार वडा नं.७ जीतपुर स्थीत खुल्ला मैदनमा सहकारीकर्मीहरुको ठुलो सहभागितामा सभा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी दिवस कार्यक्रमको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सहकारीले उद्देश्य अनुरुप काम गर्नुपर्ने बताए । ‘सुखी नेपाली समृद्द नेपालको नारालाई सार्थकता तुल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहने बताउंदै नगरप्रमुख पौडेलले सहकारीले उद्यमशिलतामा आधारित रहेर लगानी दिनुपर्नेमा जोड दिए ।

यस्तै नगरले सहकारी अभियानलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै अनुगमन र नियमनलाई प्रभावकारी बनाईने बताए । यससँगै सहकारी सदस्यहरुको जीवन परिर्वतमा भुमिका वृद्धिका लागि सहकारीहरुसँगको सहकार्यमा तालिम, गोष्ठि लगायतका विभिन्न कार्यक्रम संचालन गरिने समेत नगरप्रमुख पौडेलले बताए ।

६७ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रममा बोल्दै उपमहानगर उपप्रमुख भोला प्रसाद अधिकारीले कारोबारी सदस्य बनाएर ब्याजको प्रलोभन देखाई संचालनमा आएका केहि टुरिस्ट सहकारीको कारण वास्तविक सहकारी बदनाम भएको बताए ।
उपमहानगरपालिकाले सहकारी दिवसको अवसरमा सहकारीको विषयमा विद्याबारीधि गरेका प्रथम नगर प्रमुख स्वर्गीय डा. कृष्ण पौडेललाई मरणोप्रान्त सम्मान गरेको छ । सम्मान स्वर्गीय पौडेलकी पत्नी शर्मिला पौडेललाई प्रदान गरिएको हो ।

नगर सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर सहकारी शाखाका प्रमुख सुधन चौधरीले गरेका थिए ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उपमहानगरको कार्यालय बाट प्रभातफेरी समेत निकालिएको थियो । कार्यक्रममा उपमहानगर भित्र संचालनमा रहेका सहकारीका संचालक लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्