विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउने बिरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न


eShilalekh

२७ चैत्र २०८०, मंगलवार १७:४८

बाराः जनस्वास्थ्य कार्यालय बारा ,कलैयाको आयोजनामा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बाराको जीतपुरमा भएको कार्यक्रमको समन्वय जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले गरेको थियो ।

कार्यक्रममा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले गर्भवती महिलामध्ये अधिकाँशले गर्भावस्थामा अल्ट्रासाउन्ड गराउने र लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्ने अपराध नरोकिएको बताए ।

महिलाको चाहनाभन्दा पनि पुरुष प्रधान समाज, पितृसतात्मक सोच, अंश र वंशका लागि छोरा नै चाहिने गलत मानसिकताको परिणाम यस्तो हुन गएको जनस्वास्थ्य शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो ।

कार्यक्रममा बिभिन्न अध्ययन तथा गणनाले महिलाको भन्दा पुरुषको जनसङ्ख्या बढिरहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

कानून भएर पनि यस्तो अपराध गर्ने वा गराउनेलाई पहिचान गरी कारबाही गर्न नसकिएको सहभागीहरुले गुनासो गरेका थिए । बिभिन्न आधुनिक प्रबिधिले झन लिङ्गको पहिचान गरेर छोरा भए जन्म दिने र छोरी भएमा भ्रुणहत्या गर्ने अपराध बढेको उनीहरुको भनाई छ ।

लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद र रु १० हजार जरिवाना देखि ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्मको जरिवानाको सजायको व्यवस्था कानुनमा रहेको छ ।

वैवाहिक संस्कार र सामाजिक परम्परामा परिवर्तन नल्याई छोराछोरी समान हुन भनेर बताईरहँदा पनि ब्यवहारमा समानता नआएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बाराका अधिकृत भागिरथ चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्