राजनीतिक दलको कार्यकारिणी सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारवाही गर्न पत्राचार


eShilalekh

९ बैशाख २०८१, आईतवार २०:२३

सिमराः राजनीतिक दलको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत शिक्षक व्यवस्थापन महाशाखाले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षकलाई कारवाही गर्न बैशाख ७ गते ७७ वटै जिल्लालाई पत्राचार गरेको हो ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै केन्द्रले २०८१ बैशाख ४ गते भएको मन्त्रीस्तरीय निर्णय, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम अनुसन्धान गरेर कारवाही गर्न पत्राचार गरेको छ ।

उच्च अदालत पाटनको रिट नं. ०७८–०४०८, निर्णय नं. ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु शिक्षा मन्त्रालयको नाममा परमादेश जारी व्यहोरा उल्लेख गर्दै केन्द्रले उक्त निर्णय कार्यान्यवनका लागि सहजीकरण गरिदिन स्थानीय तहलाई समेत बोधार्थमार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्