कांग्रेस नेता एवम् पूर्वमन्त्री अफताब आलमसहित चार जनालाई जन्मकैद


eShilalekh

१३ बैशाख २०८१, बिहीबार २१:५९

रौतहटः रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । १६ वर्षअघि रौतहटको राजापुरमा भएको बम बिष्फोटको घाइतेलाई इट्टाभट्टामा हालेर निर्ममतापूर्वक हत्या गरेको आरोपमा न्यायाधिश मातृकाप्रसाद आचार्यको इजलासले चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैदको सजाय पाउनेमा आलमसहित उनका भाइ महताब आलम, शेष सेराज, बद्री सहनी रहेका छन् । घटनामा मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते कांग्रेस नेता आलमको काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा बिष्फोट भएको थियो । उक्त घटनामा गम्भीर घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियालाई जिउँदै इट्टाभट्टामा हालेर हत्या गरेको आरोप आलममाथि लागेको थियो ।

बम बिष्फोटको घटनालाई लुकाउन घाइतेहरुलाई निर्ममतापूर्वक हत्या गरेको उक्त दृश्य केही स्थानीयले समेत देखेका थिए । घाइतेलाई बोरामा राखेर इट्टाभट्टा भित्र हालेको स्थानीयले बताउँदै आएका थिए ।

उक्त घटनाको मुख्य दोषी मानिएका आलमलाई प्रहरीले २०७६ असोजमा पक्राउ गरेको थियो । जिल्ला अदालतले २०७६ कार्तिक २९ गते आलमलाई पूर्पक्षका लागि कारागार राख्ने आदेश दिएसंगै उनि नख्खु कारागारमा रहदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्