अपहरणपछि हत्या अभियोगमा समातिएका बब्लु


eShilalekh

१७ बैशाख २०८१, सोमबार १५:३३

सिमराः काठमाडौंको गोठाटारमा २०७९ असोज ३ गते ५८ वर्षीय लाल मोहम्मदलाई गोली प्रहार गरी हत्या गरेको घटनाको मुख्य योजनाकार भनिएका बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि खोजीको सूचीमा रहेका भारत पूर्वी चम्पारण रक्सौलका पासवानलाई प्रहरीले आइतबार राती वीरगन्जबाट पक्राउ गरेको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा सवार पासवानलाई पक्राउ गर्ने क्रममा प्रहरीले खुट्टामा गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएका पासवानलाई उपचारपछि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ । पासवान अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।

वीरगन्ज महानगरपालिका १६ भूटनदेवी मन्दिर अगाडी सवारी चेकजाँचका क्रममा पासवानलाई पक्राउ गरेको प्रहरीको भनाई छ । त्यसक्रममा पासवानको साथबाट प्रहरीले एक थान पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४९ ग्राम, गाँजा आठ सय ८० ग्राम बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिएका छन् ।

विभिन्न अपराधिक घटनामा जोडिएका पासवान पछिल्लो समय गोठाटार गोलीकाण्डका मुख्य योजनाकार रहेको प्रहरी निष्कर्ष छ । उनकै योजनामा सर्लाही हरिवन २ घर भई काठमाडौं बस्दै आएका लाल मोहम्मदको हत्या भएको थियो । उक्त घटनामा संलग्न अन्य पक्राउ परेपनि पासवान फरार रहदै आएका थिए ।

यसअघि पासवान २०७३ साल जेठ १३ गते बाराको बघवनबाट व्यापारी सुरेश केडियालाई अपहरण गरेको घटनामा समेत संलग्न थिए । अर्का अपराधिक पृष्ठभूमिका बब्लु दुवेको योजनामा पासवानसहितका व्यक्तिले व्यापारी केडियालाई अपहरण गरी भारत लगेका थिए । भारतमा १० करोड फिरौती बुझाएपछि जेठ १६ गते केडिया रिहा भएका थिए ।

व्यापारी केडियालाई अपहरण गर्न दुवेले पासवानलाई एक करोड दिने सहमति गरेका थिए । तर सहमति पालना नगरेको भन्दै पासवान समूहले २०७४ सालमा पटनाको उच्च अदालत परिसरमा दुवेको हत्या गरिदिए ।

भारतमा दुवेको हत्या गरेका पासवान २०७५ साल फाल्गुनमा वीरगन्जबाट पक्राउ परे । पर्सा प्रहरीद्धारा पक्राउ परेका पासवानले पत्रकार सम्मेलनमै दुवेको हत्या गरेको समेत स्विकारेका थिए । उक्त घटनामा जेल परेका पासवान केही वर्षपछि रिहा भए ।

केडिया अपहरण काण्डपछि पासवान मोहम्मद हत्याकाण्डमा मुख्य योजनाकारकै रुपमा जोडिएका छन् । उनलाई प्रहरीले मुख्य अभियुक्तको रुपमा खोजि गरिरहेको थियो । पासवानमाथि लागूऔषध र साना हतियारको कारोवारमा समेत संलग्न रहेको आरोप समेत छ ।

प्रतिक्रिया दिनुहोस्