करोडौं राजश्व छलेको आरोप लागेका बाराका उमाशंकर तीन वर्षपछि निर्दोष


eShilalekh

१८ बैशाख २०८१, मंगलवार १८:३१

सिमराः नक्कली भ्याट बिल बनाएर २८ करोड राजश्व छलेको आरोप लागेका बारा परवानीपुरका उमाशंकर रायभर निर्दोष सावित भएका छन् । उच्च अदालत पाटनबाट उमाशंकरले सफाइ पाएका हुन् ।

न्यायाधिश दीपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले उमाशंकरलाई सफाइ दिएका हुन् । यसअघि उक्त अभियोगमा उमाशंकरले ११ महिना कारागारमा बस्नुपरेको थियो ।

परवानीपुर घर भएका उमाशंकरलाई उच्च अदालतले २०७७ साल पुषमा ७५ लाख धरौटी माग गरेको थियो । तर ठुलो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए ।

संलग्नता नै नभएको घटनामा उमाशंकर जेल बस्नुपरेपछि सर्वोच्च अदालतले २०७८ माघमा धरौटी रकम २५ हजार बनाएको थियो । त्यसलगत्तै २५ हजार बुझाएर जेलमुक्त भएका उमाशंकर दुई वर्षपछि निर्दोष सावित भएका हुन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उमाशंकरको कागजात दुरुपयोग गर्दै केही व्यक्तिले नक्कली भ्याट बिल बनाउने र राजश्व छली गर्ने काम गरेका थिए । उमाशंकरकै कागजात प्रयोग गरेको र उनकै नाममा रहेको कम्पनीमार्फत उक्त घटना भएको देखिएपछि उनि पक्राउ परे ।

झुपडीमा बसेर दिन गुजारिरहेका उमाशंकर यस विषयमा अनविज्ञ थिए । निर्दोष उमाशंकरको नागरिकता प्रयोग गरेर उक्त कार्य अर्कैले गरेको पुष्टि भएपछि उनले तीन वर्षपछि सफाइ पाएका हुन् । उमाशंकरको तर्फबाट अधिवक्ता राधिका खतिवडाले निःशुल्क बहस गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्