उत्खनन्‌मा रोक लगाइएको बाराको तीन स्थानीय तहका खोला अझै खुलेनन्


eShilalekh

८ जेष्ठ २०८१, मंगलवार १४:२०

सिमराः जिल्ला समन्वय समिति बाराले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको बाराको तीन स्थानीय तहका खोला अझै संचालनमा आउन सकेका छैनन् । अनुगमनका क्रममा मापदण्ड विपरित उत्खनन् गरेको भेटिएको भन्दै समितिले जिल्लाको एक उपमहानगरपालिका र दुई नगरपालिका भित्रको खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको थियो ।

समितिले जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा, बालगंगा, पसाहामा जेठ ३ गते, निजगढको बकैया, शक्तिखोला, भक्तलाल र कोल्हबीको क्षेत्रमा पर्ने बकैया (दक्षिण) खोलामा जेठ १ गते अनुगमन गर्दै नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न रोक लगाएको हो । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले मापदण्ड विपरित काम भएको ठहर गर्दै छानविन नहुँदासम्मका लागि उत्खनन्मा रोक लगाउने निर्णय गरेको थियो ।

समितिको बैठकपछि जिल्ला समन्वय समितिले सम्बन्धित पालिकालाई पत्राचार गरेर नदीजन्य पदार्थ उत्खनन् कार्य तत्काल रोक्न निर्देशन दिएको थियो । सो निर्देशनपछि सम्बन्धित पालिकाले ठेकेदार कम्पनीलाई पत्राचार गर्दै उत्खनन् कार्य तत्कालका लागि रोक्न सूचित गराएका थिए । पालिकाको पत्राचारपछि हालसम्म तीन वटा पालिकाको सबै खोलामा उत्खनन् बन्द छ ।

अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको नेतृत्वमा सहसंयोजक एवम् प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरे, प्रहरी उपरीक्षक महेन्द्र खड्का, डिभिजन वन कार्यालयका प्रतिनिधिसहितको टोलीले खोलाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही खोलामा वातावरणीय मुल्यांकन प्रतिदेवन (आईई) र ढुंगा, गिट्टी, बालुवा विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८ विपरित उत्खनन् भएको निष्कर्ष समितिले निकालेको थियो ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले उत्खनन्को जिम्मेवारी पाएका ठेकेदार कम्पनीले मापदण्डको ख्याल नगरेको र मनोमानी ढंगले उत्खनन् गरेको अवस्था देखिएको बताएका थिए । उनले हालसम्म भएका उत्खनन्को अवस्थालाई यथावत राखेर प्राविधिक टोलीको छानविनपछि अगाडी बढ्ने बताउँदै उत्खनन् तत्कालका लागि रोक्न निर्देशन दिएका थिए ।

सोही अनुरुप बसेको जिल्ला स्तरीय समितिको बैठकले सम्बन्धित पालिकाबाट उत्खनन्को परिमाण माग गर्ने र पूर्वाधार विकास कार्यालयका इन्जिनियरको संयोजकत्वमा सम्बन्धित पालिकाको इन्जिनियर, डिभिजन वन कार्यालयका प्रतिनिधि र जिल्ला समन्वय समितिका प्रतिनिधि सदस्य रहने गरी प्राविधिक टोली गठन गर्ने निर्णय गरेको थियो । जीतपुरसिमराको हकमा जेठ ३ गते प्राविधिक टोली गठन गरी तीन दिन भित्र उत्खनन्को परिमाण, सम्झौता शर्त र मापदण्ड पालनाको अवस्थासहितको प्रतिवेदन बुझाउन भनिएको थियो । तर मंगलबारसम्म प्राविधिक टोलीको प्रतिवेदन सार्वजनिक भएको छैन ।

प्रमुख जिल्ला अधिकारी घिमिरले प्राविधिक टोलीको प्रतिवेदन आउने क्रममा रहेको बताए । प्राविधिक टोलीले प्रतिवेदन बुझाउने र सो प्रतिवेदन अध्ययनपछि मात्रै खोलाको सन्दर्भमा निर्णय लिने घिमिरेको भनाई छ ।

अनुगमनका क्रममा केही ठेकेदार कम्पनीले मापदण्डको धज्जी उडाउने गरी उत्खनन् गरेको भेटिएपछि गम्भीर छानविन हुनुपर्ने अवस्था रहेको समितिका एक सदस्यले बताएका छन् । समितिका ती सदस्यका अनुसार मापदण्डको ख्यालनै नगरी नदीजन्य पदार्थ उत्खनन् गरेको भेटिएको छ ।

जीतपुरसिमराको बालगंगा खोलाको ठेक्का पाएको जय मातादी कन्स्ट्रक्सनले झण्डै १० फिट गहिराईसम्म खाडल बनाएको र अनुमति भन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएको छ । आईई प्रतिवेदनअनुसार निर्धारित स्थानमा बढीमा तीन फिटसम्म गहिराईमा उत्खनन् गर्न पाइने भएपनि बालगंगा खोलामा मापदण्डको धज्जी उडाउने गरी उत्खनन् भएको हो । उता कोल्हबी नगरपालिकाको क्षेत्रमा पर्ने बकैया खोलामा ६ वटासम्म एक्साभेटर एकैपटक प्रयोग भएको पाइएको छ ।

खोलामा एकपटकमा एउटा भन्दा बढी एक्साभेटर प्रयोग गर्न पाइदैन । ठेक्का सम्झौता गर्ने क्रममा ठेकेदार कम्पनीलाई दुई वटा एक्साभेटको अनुमति दिने गरिएको छ । अनुमति पाएको दुई वटा एक्साभेटरमध्ये एकपटकमा एउटा मात्रै प्रयोग गर्न सकिने प्रावधान छ । तर कोल्हबीमा एकैपटक ६ वटासम्म एक्साभेटर प्रयोग गरको पाइएको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरित उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई कारवाही हुनुपर्ने भएपनि विगतका नजिर हेर्दा उन्मुक्ति पाईरहेका छन् । मापदण्ड विपरित उत्खनन् गरेका ठेकेदार कम्पनीले नै प्रत्येक वर्ष पालिकाबाट ठेक्का सकार गरेको देखिन्छ । सरकारी मापदण्डविपरित खोला उत्खनन् गरेको पुष्टि भएपनि ती कम्पनीलाई कालो सूचिमा राखेको देखिदैन ।

यता सरकारी मापदण्डको धज्जी उडाउने गरी उत्खनन् हुँदासम्म खोलाको अनुगमन ढिलाई भएको गुनासो छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले समयमै अनुगमन गरेको भए मापदण्ड विपरित उत्खनन् हुन नपाउने बताउँछन् ।

उत्खनन् गर्ने अवधी एक महिना बाँकी रहँदा समितिले अनुगमन गरेको हो । ठेकेदार कम्पनीले जेठ मसान्तसम्म मात्रै उत्खनन् गर्न पाउछन् । समयभित्रै उत्खनन् गरी नदि किनारमा घाटगद्दी गरेर राखिएका नदीजन्य पदार्थ समेत प्रमाणित गराएर विक्री वितरण गर्न पाउने प्रावधान छ ।

यता ठेक्का अवधि समाप्त हुन एक महिना बाँकी रहँदा सबै खोला बन्द गरिएपछि करोडौ रकममा ठेक्का लिएका ठेकेदार आफूहरु समस्या परेको बताउँछन् । दुधौरा खोलाको ठेक्का पाएको सन्देश सप्लायर्सका संचालक नारायण घिमिरेले मापदण्ड विपरित उत्खनन् भएको पाइएमा छानविन गरी कारवाही गर्न र मापदण्ड अनुसार उत्खनन् भएका खोलालाई छिटो संचालनमा ल्याउनुपर्ने बताउँछन् ।

स्थानीय स्तरमा हुने विकास निर्माणका काममा यतिबेला नदीजन्य पदार्थको माग बढिरहेपनि विक्री वितरण गर्न नपाइएको र करोडौं रकम लगानी गरेर ठेक्का लिएका आफूजस्ता ठेकेदार मर्कामा परेको उनको भनाई छ ।

‘सरकारी स्तरबाट हुने छानविनका लागि हामीले सहयोग गरेर बसेका छौं । तर छानविन छिटो गरेर ठेकेदारलाई काम गर्ने वातावरण बनाउन आग्रह गर्छु’ घिमिरेले भने ‘काम गर्ने समय जेठ मसान्तसम्म मात्रै छ । नत्र करोडौं लगानी लगाएर ठेक्का लिएका ठेकेदार डुब्ने अवस्थामा पुग्छन् ।’

जीतपुरसिमराको तीन वटा खोलामध्ये घिमिरेले दुधौरा खोलाको ठेक्का लिएका थिए । दुधौरा खोलामा हालसम्म उत्खनन् भएको विवरण नबुझाएको भन्दै रोक लगाइएको छ । तर ठेकेदार घिमिरेले भने आफूहरुले सम्बन्धित पालिकालाई उत्खनन् भएको विवरण बुझाएको तर पालिकाले समयमै जिल्ला समन्वय समितिमा नपठाएका कारण समस्या उत्पन्न भएको बताए ।

घिमिरेको सन्देश सप्लायर्सले दुई करोड २४ लाख रकम अग्रिम बुझाएर दुधौरा खोलाको ठेक्का सम्झौता गरेको थियो । १० प्रतिशत छुट पाइने हुँदा अग्रिम रकम बुझाएको तर अहिले काम गर्ने वातावरण नभएको घिमिरेको भनाई छ ।

चालु आर्थिक वर्षमा जीतपुरसिमराले तीन वटा खोला १० करोड ५६ लाख, निजगढ नगरपालिकाले आठ करोड २८ लाख र कोल्हवी नगरपालिकाले दुई करोड ९१ लाखमा ठेक्का लगाएको थियो ।

समाचार लेखेको भन्दै संचारकर्मीलाई धम्की

नदीजन्य पदार्थ उत्खनन् गरेको समाचारमा आफ्नो नाम राखेको भन्दै ठेकेदार शिवनाथ पटेलले संचारकर्मी महेश्वर अधिकारीलाई धम्की समेत दिएका थिए । बालगंगा खोलाको ठेक्का लिएको जय मातादी कन्स्ट्रक्सनका संचालक पटेलले समाचारमा आफ्नो नाम समावेश किन गरेको भन्दै संचारकर्मी अधिकारीलाई धम्क्याएका हुन् ।

संचारकर्मी अधिकारीलाई फोन गर्दै पटेलले ‘पत्रकारिता गरेको कति वर्ष भयो ? पत्रकारिता गर्ने भए राम्रोसंग गर’ भन्दै धम्की दिएका थिए । पत्रकारको मनोबल खस्काउने गरी पटेलले धम्की दिएको विषयलाई जिल्लाका पत्रकारले गम्भीररुपमा लिएका छन् ।

खोलाको ठेक्का आफूले नभई जय मातादी कन्स्ट्रक्सनले लिएको भन्दै पटेलले समाचारमा आफ्नो नाम उल्लेख गरेकोमा असन्तुष्टी पोखेका थिए । पटेल जनमत पार्टीका जिल्ला अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्