जीतपुरसिमराको सात वटा सामुदायिक विद्यालयको कक्षा घटुवा, दुई विद्यालय समायोजन


eShilalekh

८ जेष्ठ २०८१, मंगलवार २२:०३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा समितिले पालिकाभित्रको सात वटा आधारभूत विद्यालयको कक्षा संचालन अनुमति घटुवा गरेको छ भने दुई वटा विद्यालयलाई अन्यमा समायोजन गरेको छ । शिक्षा समितिको बैठकले शिक्षा नियमावली २०५९, नगर शिक्षा ऐन २०७५ र सामुदायिक विद्यालय समायोजन कार्यविधि २०७९ वमोजिम कक्षा घटुवा र समायोजन गरेको हो ।

शिक्षा समिति संयोजक एवम् नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले कक्षा ८ सम्म अध्यापन अनुमति पाएका पाँच विद्यालयलाई ५ कक्षा संचालन गर्ने गरी घटुवा गरेको छ । समितिको निर्णयअनुसार वडा नं. ३ बजनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ८ बाट कक्षा ५ सम्म अध्यापन गराउने गरी घटुवा गरिएको छ । उक्त विद्यालयको ६ देखि ८ कक्षालाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा समायोजन गरिएको छ ।

यसैगरी वडा नं. १६ कतर्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ८ बाट ५ मा घटुवा गर्दै अन्य कक्षालाई नेपाल जनजागृति माध्यमिक विद्यालय सखुवाघाटमा समायोजन गरिएको छ । कक्षा ८ कै अनुमति पाएर संचालन हुँदै आएको जीतपुरसिमरा १८ बडहर्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ५ मा ल्याउदै अन्य कक्षालाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरमा समायोजन गरिएको छ ।

जीतपुरसिमरा १५ भवानीपुरस्थित बालज्योती आधारभूत विद्यालयलाई कक्षा ८ बाट ५ मा ल्याउँदै अन्य कक्षालाई डुमरवानास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ भने वडा नं. २ को सरस्वती आधारभूति विद्यालयलाई ५ मा कायम गरेर अन्य कक्षालाई सिमरामा समायोजन गरिएको छ ।

समितिले कक्षा ५ सम्म अध्यापन गराउँदै आएको वडा नं. १ को थानीमाई आधारभूत विद्यालयलाई ३ कक्षासम्म अध्यापन गराउने गरी घटुवा गर्ने निर्णय गरेको छ । उक्त विद्यालयको कक्षा ४ र ५ लाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा समायोजन गरेको छ ।

कक्षा ४ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा १४ स्थित प्रगती आधारभूत विद्यालयलाई कक्षा २ मा घटुवा गरेर अन्य कक्षालाई जनता माध्यमिक विद्यालय रजघट्टामा समायोजन गर्ने निर्णय समितिले गरेको छ ।

समितिले ५ कक्षाको अनुमति पाएको जीतपुरसिमरा १८ कुशमाणीस्थित सूर्यविनायक आधारभूत विद्यालयलाई श्री बालबालिका आधारभूत विद्यालयमा गाभेको छ भने जीतपुरसिमरा १ दुधौरामा कक्षा १ सम्म अध्यापन गराउँदै आएको शिवपार्वती आधारभूत विद्यालयलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयामा समायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्