बारामा १३ लाख नक्कली नोटसहित चार जना प्रक्राउ


eShilalekh

१६ जेष्ठ २०८१, बुधबार १७:१६

सिमराः बारा प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बारा सिम्रौनगढ नगरपालिका ९ कचोर्वास्थित सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीद्धारा पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका ६ का २५ वर्षीय राजन चौधरी, वडा नं. ५ का १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका वडा नं. १ का १९ वर्षीय मोहनकुमार साह र भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलम रहेका छन् । तीन जनालाई सानो बसबरिया र एक भारतीय नागरिकलाई ठूलो बसबरियाबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका तीन जनाबाट सात लाख सात हजार नक्कली नोट बरामद गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । उनीहरुले प्रयोग गरेको ना३४प ३५१२ र बिआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय नागरिक आलमलाई प्रहरीले बारा सिम्रौनगढ नगरपालिका ९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । आलमको साथबाट ६ लाख ९ हजार नक्कली नेपाली नोट बरामद भएको छ ।

पक्राउ परेका चार जनामाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्