चन्द्रपुर नगरपालिकाले बनायो विद्युतिय सवारी चार्जिङ स्टेशन


eShilalekh

२० मंसिर २०८१, बिहीबार १६:५५

सिमराः रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण गरिएको विद्युतिय सवारी चार्जिङ स्टेशनको बिहीबार उद्घाटन गरिएको छ । मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् ।

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ को ५० प्रतिशत र चन्द्रपुर नगरपालिकाको ५० प्रतिशत लगानीमा रिफ्रेश सेन्टरसहितको चार्जिङ स्टेशन निर्माण भएको हो । दुई करोड ७२ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त चार्जिङ स्टेशन मधेश प्रदेशकै ठूलो र व्यवस्थित रहेको बताइएको छ ।

करिब साढे पाँच कठ्ठा सरकारी जमिनमा निर्माण भएको चार्जिङ स्टेशनमा एकैपटक चार वटा चारपाङ्ग्रे र ११ वटा तीन पाङ्ग्रे गरेर १५ वटा विद्युतिय सवारी चार्ज गर्न सकिनेछ । एनके थापा कन्स्ट्रक्सन काठमाडौंले निर्माण गरेको उक्त चार्जिङ स्टेशनबाट हुने आम्दानी नगरपालिकाको आन्तरिक स्रोतमा जम्मा हुनेछ ।

चार्जिङ स्टेशनको सेवा उद्घाटन समारोहमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्ले, नगरपालिकाका अन्य जनप्रतिनिधिलगायत उपस्थित थिए । नगर प्रमुख काफ्लेले वातावरणमैत्री र कम खर्चिलो विद्युतिय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै चार्जिङ स्टेशन निर्माण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्