आज विवाह पञ्चमी, जानकी मन्दिरमा राम र सीताको विवाह हुँदै

सिमराः आज विवाह पञ्जमी, जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान् राम र सीताको विवाह धुमधामका साथ सम्पन्न हुँदैछ । रामसीताको विवाहका लागि जानकी मन्दिरलाई दुलही झै सिंगारिएको छ ।
वैवाहिक समारोमा सहभागी हुन अयोध्याबाट पाँच सय भन्दा बढी जन्ती जनकपुर आईसकेका छन् । यसअघि बिहीबार मटकोर विधि सम्पन्न भएको थियो । धार्मिक तथा ऐतिहासिक गंगासागर पोखरीमा ढोलबाजासहित पुगेका जानकी मन्दिरका महन्थ तथा पूजारीको टोलीले माता सीताको प्रतीकात्मक स्वरूपलाई राखेर मटकोर विधि सम्पन्न गरेका थिए ।
मटकोर विधिमा राम र सीताको प्रतिकात्मक रूप बनाइएका बालबालिकालाई पानीले चोख्याउने परम्परा छ । यस विधिमा सहभागिता जनाउन हजारौंको संख्यामा श्रद्धालु गंगासागर पुगेका थिए ।
जानकी मन्दिरको प्रांगणमा बनाइएको मण्डपमा साँझदेखि विवाहको कार्यक्रम सुरु हुनेछ । विवाहमा सहभागी हुन नेपाल र भारतबाट हजारौंको संख्यामा श्रद्धालु जानकी मन्दिरमा आईपुगेका छन् ।

अयोध्याबाट आएको जन्तीलाई मधेश सरकारको स्वागत
विवाहका लागि अयोध्याबाट भगवान रामको जन्ती बनेर आएका पाहुनालाई मधेश प्रदेश सरकारले विशेष स्वागत गरेको छ । मधेश सरकारले प्रशासनिक मधेश भवनमा स्वागतसहित दिवा भोजनको आयोजना गरेको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले अयोध्याबाट चम्पत रायको नेतृत्वमा पाँच सय संख्यामा आएका जन्तीलाई स्वागत गरेका थिए । उनिहरुलाई मिधिला भोजन खुवाएर सम्मान गरिएको हो ।
