लायन्स क्लबको आयोजनामा विश्वव्यापी शान्ति चित्रकला प्रतियोगिता सम्पन्न

सिमराः वीरगञ्जमा लायन्स क्लबले आयोजना गरेको विश्वव्यापी शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
लायन्स डिस्ट्रिक्ट ३२५ एसको तर्फबाट प्रथम स्थान हासिल गर्ने जीएचपी स्कुल वीरगञ्जकी १२ वर्षीय छात्रा राजनन्दनी साहलाई डिस्ट्रिक्ट गभर्नर ताशी डोल्माले पुरस्कृत गरेकी थिईन् ।
नेपालभरिका १५ लायन्स डिस्ट्रिक्टमध्ये लायन्स डिस्ट्रिक्ट ३२५ आईका तर्फबाट प्रथम स्थान हासिल गर्ने काठमाडौँस्थित प्रारम्भ स्कुलकी छात्रा आयास ज्ञवालीलाई डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरूले उत्साहपूर्वक भाग लिएका थिए । नेपालका प्रथम स्थान प्राप्त पोस्टरलाई लायन्स क्लबका मल्टिपल काउन्सिल प्रमुख रमेश लामाले अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि पठाइएको छ ।
यसअघि, लायन्स क्लबका भूतपूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानको कार्यकालमा पोखराका एक विद्यार्थीको पोस्टरले विश्व स्तरमा तेस्रो स्थान हासिल गरेको उदाहरण उल्लेखनीय छ ।
यसैबिच, लायन्स क्लब सेन्ट्रल सिटीद्वारा आयोजित पिस पोस्टर प्रतियोगितामा नवदिप एकेडेमी वीरगञ्जका १३ वर्षीय छात्रा निधि साहलाई डिस्ट्रिक्ट ३२५ एस अन्तर्गत पुरस्कृत गरिएको छ ।