जगदम्बा स्टील्सको भट्टी स्थानान्तरण नभएसम्म संचालन नगर्न पाँच राजनीतिक दलको माग

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच दलले जगदम्बा स्टील्स् उद्योग भित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म संचालन नगर्न माग गरेका छन् । उद्योगमा बुधवार राति भएको विष्फोटको घटनापछि विभिन्न पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने भट्टी स्थानान्तरण नभएसम्म संचालनमा रोक लगाउन माग गरेका हुन् ।
उपमहानगरपालिका भित्र रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । एमाले अध्यक्ष त्रिलोक बिक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले विज्ञप्ति जारी गरेका हुन् ।
राजनीतिक दलले उद्योगको सिसिएम प्लान्टमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विष्फोटका घटना नियन्त्रण गर्न उद्योग प्रशासन गम्भीर नदेखिएको आरोप लगाएको छ । ‘यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रबाट पहलकदमी भईरहेको थियो । तरपनि भट्टी विष्फोट हुने क्रम रोकिएको देखिदैन । यस्तो घटनाले उद्योगभित्र जनधनको क्षति त छदैछ, उद्योग वरपर बसोबास गर्ने आमनागरिक पनि त्रसित अवस्थामा बस्नुपरेको छ । विष्फोटको घटनाले साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिकरुपमा असर पुर्याईरहेको वर्तमान अवस्थाप्रति हामी गम्भीर छौं’ विज्ञप्तिमा उल्लेख छ ।
बस्तीका बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर कारखाना संचालन गर्नुपर्ने भएपनि उक्त विषयमा गम्भीरता नदेखिएको हुँदा जोखिमपूर्ण भट्टीलाई अन्यत्र स्थानान्तरण गर्न राजनीतिक दलले माग गरेका छन् । भट्टी स्थानान्तरण नहुँदासम्मसञ्चालनमा पूर्णरुपमा रोक लगाउन स्थानिय प्रशासन र स्थानीय सरकारसंग उनिहरुको माग रहेको छ ।
हेर्नुहोस विज्ञप्तिः
