नयाँ पुस्ताका लागि नयाँ प्रेरणा: अर्जुन रसाईली

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकामा एक युवा जनप्रतिनिधि अर्जुन रसाइली अहिले चर्चामा छन् । पछिल्लो समय सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखाएको गतिविधिले उनको चर्चा बढेको हो ।
दलित तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै नेकपा एमालेबाट कार्यपालिका सदस्य बनेका रसाईलीले गत आर्थिक वर्षमा प्राप्त बजेटलाई समुदाय लक्षित कार्यक्रममा खर्चिएका छन् । उनले सांस्कृतिक र खेलकुद क्षेत्रमा बजेट खर्चिएका छन् ।

रसाईलीले एकादशी भजन समूहहरूलाई झ्याली, मादल, हार्मोनियम, टबला जस्ता वाद्ययन्त्रहरू हस्तान्तरण गरेका छन् । जीतपुरसिमरा ४ र १४ मा गरिएको यो कार्यले सांस्कृतिक जागरणको महसुस भएको स्थानीय बताउँछन् ।

धार्मिक समुहलाई वाद्ययन्त्र प्रदान गरेर परम्परागत सांस्कृतिक अभ्यासको जगेर्ना गर्न योगदान पुर्याएका उनले खेलकुद सामग्री वितरणमार्फत खेलप्रतिको रुचि र सम्भावना भएका युवाको हौसला थपेका छन् । स्थानीय क्लब तथा खेलाडीहरूलाई ३० थान जर्सी, जुत्ता, फुटबललगायत सामग्री उपलब्ध गराएर युवाको जोश भरिदिएका छन् । यसैगरी रसाइलीले दुर्गा मन्दिरमा ५० थान कुर्सी, शिव मन्दिरमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेका छन् ।

उपमहानगरपालिकाको श्रम, उद्योग, वाणिज्य तथा रोजगार प्रवर्द्धन समितिका संयोजक समेत रहेका रसाइलीले समुदायलाई लक्षित गरेर गरेको कामको अहिले चर्चा हुन थालेको छ । सादा बोली, सरल व्यवहारका पनि परिचीत रसाइलीले कार्यपालिका सदस्यका लागि दिइएको पहिलो बजेटबाट उक्त काम गरेका हुन् ।

