भ्रमणको बजेटबाट विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ ले यस वर्षको भ्रमणका लागि छुट्याइएको बजेट उपयोग गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत ने.रा. माध्यमिक विद्यालय औराहाका विद्यार्थीहरूको खेलकुद क्षेत्रमा योगदान पुर्याएको छ। वडाले भ्रमण नगई उक्त बजेटबाट करिब तीन लाख रुपैयाँ बराबरका खेलकुद सामग्री विद्यालयमा हस्तान्तरण गरेको हो।
विद्यालयमा आयोजित एक कार्यक्रमका क्रममा वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले खेलकुद सामग्री हस्तान्तरण गर्दै विद्यालयमा वर्षेनी १५ लाखभन्दा बढीको अनुदान प्रदान गरिएको र कक्षा शिशुदेखि कक्षा १२ सम्म पूर्णरूपमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको जानकारी गराए ।
यता विद्यालयप्रति निरन्तर सहयोग गर्दै आएका यूवा व्यवसायी तथा समाजसेवी जनक दाहालले विद्यालयलाई एक वर्षका लागि आवश्यक हर्पिक, फिनेल, साबुन, झाडु लगायत सरसफाइ सामग्री उपलब्ध गराएका छन् । विद्यालयको नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहको सक्रियतामा विद्यालयलाई घाँस काट्ने मेसिन प्रदान गरिएको छ ।
यसै क्रममा विद्यालयले हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाभरिबाट दोस्रो स्थान हासिल गर्न सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूलाई बधाई दिएको छ ।