कलैयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सिमराः बाराको कलैया उपमहानगरपालिका २३ सिसहनिया चौकमा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ का उपेन्द्र राउत कुर्मी रहेका छन् ।
प्रहरीका अनुसार कलैया वीरगन्जतर्फ जाँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमो एकआपसमा ठोक्किदा कुर्मी गम्भीर घाइते भएका थिए ।
घाईते भएका कुर्मीलाई तत्काल उपचारका लागि एलएस न्यूरो अस्पताल पुर्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता घटनापछि आक्रोशित स्थानीयले बैराठपुर चौकमा सोमबार बिहान टायर बाल्दै प्रदर्शन गरेका थिए । फरार रहेका चालकलाई पक्राउ गर्न माग गर्दै उनिहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण कलैयावीरगन्ज सडकखण्डमा चल्ने सवारी साधन अवरुद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले मृतकका आफन्तसहित स्थानीयले अवरोध गरेको सडक सुचारु भएको बताए ।