रुबी साह हत्या प्रकरण: शव बोक्न ई-रिक्साको प्रयोग, चक्कामा समस्या आएपछि सडकमै छाडियो सुटकेश


eShilalekh

९ भाद्र २०८२, सोमबार १६:१४

रौतहट: रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी २६ वर्षीया रुबीकुमारी साहको शव बोक्न प्रयोग भएको ई-रिक्सा चालक भेटिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी शव बोक्ने ई-रिक्सा चालकसम्म पुगेको हो ।

ई–रिक्सा चालक लक्ष्मण महरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि प्रहरी हत्याराको नजिकसम्म पुगेको हो । घटनामा चालकको संलग्नता नभए पनि सुटकेस बोक्न रिक्साको प्रयोग भएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका चालक महराले आफूलाई सुटकेसभित्र के छ भन्ने थाहा नभएको बयान दिएका छन्।

प्रहरीका अनुसार हत्याराले सुटकेस गंगापिपरा लैजाने भन्दै पाँच सय रुपैयाँमा ई–रिक्सा भाडामा लिएका थिए । तर चक्कामा समस्या आएपछि रिक्सालाई पठाई हत्यारा बाटोमै सुटकेश छोडेर भागेको देखिन्छ । गंगापिपरा बागमती नदी नजिकै भएकाले हत्याराले सुटकेस नदीमा फाल्ने योजना बनाएको हुनसक्ने आशंका गरिएको छ।

यसैबीच प्रहरीले मृतक रुबीको चप्पल फेला पारेको स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले अनुसन्धान हत्यारा नजिक पुगेको जानकारी दिए। उनका अनुसार घटनामा संलग्न व्यक्ति हाल फरार देखिएपनि खोजी तीव्र पारिएको छ।

शनिबार साँझ करिब ६ बजे आमा मिथिलादेवी साहलाई फोन गरी केही सामान लिन जान्छु भन्दै बजार निस्किएकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन्। त्यही रात गौर नगरपालिका ९ मुडबलवा गेटस्थित सडकमा शंकास्पद अवस्थामा बेवारिसे सुटकेस भेटिएको थियो। स्थानीयले प्रहरीलाई खबर गरेपनि तत्काल सुटकेस खोलिएको थिएन।

आइतबार बिहान प्रहरीले सुटकेस खोलेपछि त्यसभित्र रुबी साहको शव फेला परेको थियो। शनिबार घरबाट निस्किएकी रुबी नै सुटकेशभित्र मृत भेटिएकी थिईन् ।

भारतको मुजफ्फरपुरमा विवाह गरेकी रुबी सन्तानलाई पढाउनका लागि भन्दै केही समयदेखि रौतहटमा बस्दै आएकी थिइन्। घटनापछि उनका श्रीमान भारतबाट नेपाल आएका छन्।

प्रतिक्रिया दिनुहोस्