प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष कुशवाहालाई माओवादीले गर्यो निलम्बन

सिमरा: नेकपा माओवादी केन्द्रले बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेको भन्दै माओवादीले कुशवाहालाई निलम्बन गरेको हो ।
कुशवाहा माओवादीको पूर्व जिल्ला सदस्य हुन् भने माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित वडाध्यक्ष हुन् । कुशवाहासहित आठ जनाले पर्सा बहुदरमाई घर भई प्रसौनी ६ बेलहीया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको आरोप छ । मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो समेत माओवादीले फेला पारेको छ ।
अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले कुशवाहालाई निलम्बन गरेका हुन् । कुशवाहाको पार्टी सदस्यता खारेज गर्न र जिम्मेवारीबाट हटाउन माओवादीको प्रसौनी गाउँ समितिले भदौ ५ गते र बारा जिल्ला समन्वय समितीले भदौ ७ गते प्रदेश समितिलाई पत्र लेखेको थियो ।
जिल्ला समिती बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए । श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराएका थिए । कुशवाहाको सदस्यता खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन पत्राचार गरेपनि प्रदेश कमिटीले भने ६ महिनाका लागि मात्रै पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
यता पीडित शिक्षक यादवले दिएको जाहेरीका आधारमा बारा प्रहरीले वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले कुशवाहालाई अमानवीय व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए । कुशवाहा प्रहरी हिरासतमा छन् ।
कुशवाहा यसअघि पनि चेक अनादर, कुटपिटसहित विभिन्न मुद्दामा संलग्न थिए । बारा जिल्ला अदालतको फैसला आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले जेठ ११ गते कुशवाहालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।