वीरगन्जमा १९ लाखभन्दा बढीको अवैध समान बरामद

वीरगन्जः सशस्त्र प्रहरीले वीरगन्जबाट १९ लाखभन्दा बढीको अबैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी १३ गण हेडक्वार्टर पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका १० अशोक बाटिकाबाट अवैध कपडा बरामद गरेको हो ।
यसैगरी प्रहरीले अशोक बाटिकाबाटै बिआर २२ एस ०७०१ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको भन्सार मूल्य १७ लाख ८५ हजार सात सय ३६ रुपैयाँ बराबरको हुक्काको फ्लेवर, कपडा र किराना समान बरामद गरेको छ ।
मोटरसाइकलसहित बरामद समान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जनाएका छन् ।