फेटा गाउँपालिकामा हैजा संक्रमण नियन्त्रणका लागि अभियान सुरु


eShilalekh

१२ भाद्र २०८२, बिहीबार १५:२४

सिमराः हैजा तथा झाडापखालाको जोखिम बढेसँगै बाराको फेटा गाउँपालिकाले रोग नियन्त्रणका लागि सक्रिय अभियान थालेको छ । गाउँपालिकाले घर–घरमै पुगेर स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने अभियान थालेको हो ।

गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले व्यक्तिगत स्तरमा सुरक्षित खानेपानी प्रयोग गर्न, खाना खानुअघि र दिसापछि साबुन पानीले हात धुन, राम्ररी पकाएको खाना मात्र खान, पानीको भाँडा वा ट्यांकी छोपेर राख्न तथा वरिपरि सफा राख्न आग्रह गरेका छन् ।

यसैगरी संस्थागत रूपमा गाउँपालिकाले सुरक्षित खानेपानी आपूर्ति सुनिश्चित गर्न, सरसफाइ व्यवस्थापनमा कडाइ गर्न र सामुदायिक तहमा जनचेतना फैलाउने अभियान अघि सारेको छ । यसका लागि स्वास्थ्यकर्मीरूलाई बस्ती–बस्तीमा परिचालन गरिएको छ ।

स्वास्थ्यकर्मीरूले हैजासम्बन्धी जानकारी दिनुका साथै दूषित खाना–पानी नखान, फलफूल तथा तरकारी राम्ररी धुने सन्देश प्रवाह गरिरहेका छन् ।

गर्मी र वर्षायाममा हैजासहित झाडापखाला फैलिने सम्भावना उच्च हुने भएकाले गाउँपालिकाले युद्धस्तरमा सचेतना अभियान सुरू गरेको छ ।

यसका साथै व्यक्तिगत सरसफाइ र स्वास्थ्य सुरक्षामा प्रत्येक नागरिकको सक्रिय भूमिका आवश्यक रहेको गाउँपालिका अध्यक्ष अंसारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्