बाराका विभिन्न स्थानबाट लाखौं मूल्य बराबरको अवैध सामान बरामद

सिमराः सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानबाट लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । बरामद गरिएका सामानहरूमा माछा, मदिरा, रेडिमेड कपडा तथा मोटरसाइकलहरू रहेका छन् ।
सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार विभिन्न ठाउँमा खटिएका टोलीहरूले अवैध सामान बरामद गरेको हो ।
बि.ओ.पि. बरैनिया अन्तर्गतको टोलीले बिश्रामपुर गाउँपालिका ४ बलिरामपुर सीमा क्षेत्रबाट आइतबार ४६ हजार एक सय ७० रुपैयाँ बराबरको नेपाली सिल प्याक मदिरासहित बि.आर.०५ बि.एल.२६५६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । बरामद मदिरा र मोटरसाइकलको मूल्य करिब एक लाख ९६ हजार एक सय ७० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी फेटा गाउँपालिका १ त्रिवेणी चोकमा भारतबाट मोटरसाइकल प्रयोग गरी ल्याउँदै गरेको एक लाख १९ हजार ८ सय ८० रुपैयाँ बराबरको रेडिमेड कपडासहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
यसैगरी बि.ओ.पि.गोलागंजका सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको नेतृत्वमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका ७ कवलपुर सीमा क्षेत्रबाट ६ वटा मोटरसाइकल प्रयोग गरी ल्याउँदै गरेको करिब एक लाख ६५ हजार रुपैयाँ बराबरको ५५० किलो (११ कार्टुन) खान अयोग्य माछा बरामद गरेको हो ।

खान अयोग्य माछा पशु क्वारेन्टिन कार्यालय, नेपाल प्रहरी र स्थानीय पत्रकारहरूको रोहबरमा खाल्डो खनी गाडेर नष्ट गरिएको छ । बरामद मोटरसाइकलहरू भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।