वीरगन्जमा निषेधाज्ञा हटाउने निर्णय, संवेदनशील क्षेत्रमा कर्फ्यु यथावत्


eShilalekh

३० भाद्र २०८२, सोमबार १६:०९

वीरगन्ज: जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । जेनजी आन्दोलनपछिको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

प्रशासनले सोमबार एक सूचना जारी गर्दै बिहान ५ बजेदेखि साँझ ९ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा हटाएको जनाएको छ । प्रशासनका अनुसार जिल्लाको शान्ति सुरक्षाको अवस्था क्रमशः सुदृढ बन्दै गएको छ र नागरिकको दैनिक जनजीवन सामान्य बनाउने उद्देश्यले उक्त निर्णय लिइएको हो ।

तर वीरगन्ज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा भने दंगाग्रस्त क्षेत्रको घोषणा यथावत् राखिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र पर्सा कारागार कार्यालय तथा त्यसको कम्पाउन्डभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो । यी क्षेत्रमा लगाइएको रात्रिकालीन कफ्र्यू अर्को सूचना जारी नभएसम्म कायमै रहने प्रशासनले स्पष्ट पारेको छ ।

साथै जिल्ला प्रशासन कार्यालयले सरकारी सेवा पुनः सुचारु भइसकेको जानकारी गराएको छ । भदौ २९ गतेदेखि सबै सरकारी कार्यालयहरूबाट सेवा दिन थालिएको हो ।

आन्दोलनका कारण सेवा लिन नपाएका सेवाग्राहीहरूलाई ध्यानमा राख्दै भदौ २४ गते राष्ट्रिय परिचयपत्रका लागि टोकन लिएकाहरूलाई पहिलो प्राथमिकता दिइने जनाईएको छ ।

प्रशासनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न र जारी आदेशहरूको पालना गर्न सबै नागरिकहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्