परवानीपुर सबस्टेशनमा आगलागी, विद्युत् आपूर्ति अनिश्चित

सिमराः बाराको परवानीपुर गाउँपालिकास्थित हेटौडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेशनमा आगलागीपछि वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अनिश्चित भएको छ ।
बुधबार दिउँसो आगलागी भएपछि अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार बिहान पुनः सुचारु भए पनि केही घण्टामै फेरि बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दूवेका अनुसार १३२ केभीए ब्रेकरको ‘बुस’ फुट्दा विद्युत् आपूर्ति पुनः अवरुद्ध भएको हो ।
उनका अनुसार प्रसौनी सबस्टेशनमार्फत अस्थायी रूपमा आपूर्ति पुनः सुरु गर्ने प्रयास भइरहे पनि प्राविधिक जटिलताका कारण सेवा कहिले पूर्ण रूपमा नियमित हुन्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन ।
बुधबार दिउँसो ४ बजे ११ केभी प्यानलमा सर्ट सर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगन्ज, नितनपुर, चोर्नी र भलुही फिडरसहित सबै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो । आगलागीलाई वरुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
विद्युत् आपूर्तिमा भएको लगातार अवरोधले औद्योगिक क्षेत्रदेखि व्यापारीक र सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ ।
नेपाल विद्युत् प्राधिकरणले भने मर्मत कार्यलाई तीव्र बनाएको र सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्ने प्रतिबद्धता जनाएको छ ।