‘डार्ट’ गरेर आधाभारबाट नियन्त्रणमा लिइयो बाघ


eShilalekh

३ आश्विन २०८२, शुक्रबार १०:०१


सिमराः पर्सा राष्ट्रिय निकुञ्जको आधाभार जंगलबाट शुक्रबार बिहान बाघ नियन्त्रणमा लिइएको छ । पछिल्लो तीन महिनामा तीन जनाको ज्यान गएपछी खटिएको विज्ञ टोलीले ‘डार्ट’ गरेर बाघ नियन्त्रणमा लिएको हो ।

बाघको आक्रमण नरोकिएपछी राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएलको विज्ञ टोली बाघ नियन्त्रणका लागि खटिएको थियो । पथलैया-अमलेखगञ्ज सडकखण्ड अन्तर्गत आधाभार जंगलमा बाघ देखिएपछि विज्ञ टोली पुगेर ‘डार्ट’ गरेको हो ।

हात्तीको सहायतामा जंगल पुगेको टोलीले डार्ट गरी बाघलाई बेहोस बनाएको थियो । बेहोस भएको बाघलाई निकुञ्जको कार्यालयस्थित खोरमा राखिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिएका छन् ।

बाघ नियन्त्रणमा लिन विज्ञ टोलीसहित जनप्रतिनिधि, प्रहरी हात्ती चढेर जंगल पुगेका थिए ।

बाघको आक्रमणबाट जीतपुरसिमरामा असार र भदौ महिनामा तीन जनाको मृत्यु भएको थियो । बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका १ का ६० वर्षीय छेवाङ्ग लामा, वडा नं। २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, वडा नं। २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो ।

बाघको आतंक नरोकिएपछि स्थानीयले बाघ नियन्त्रणमा लिन अनुरोध गर्दै आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्