तरकारी बोकेको भ्यानबाट ३३४ किलो गाँजा बरामद


eShilalekh

५ आश्विन २०८२, आईतवार १२:४४

सिमरा: रौतहटको इशनाथ नगरपालिका ८ मोतिपुर सडकखण्डमा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको तरकारी बोकेको पिकअप भ्यानबाट गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी रामपुरखापबाट खटिएको टोलीले भ्यान चेकजाँच गर्दा तीन सय ३४ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार भ्यानको माथिल्लो भागमा २० बोरा फूलकाउली देखिने गरी राखिएको थियो भने त्यसको तल २६ पोका गाँजा लुकाइएको अवस्थामा भेटिएको हो । बरामद गाँजामध्ये १५–१५ केजीका १९ पोका र ७–७ केजीका ७ पोका रहेका छन्।

गस्ती टोली देखेपछि चालक गाडी छोडेर फरार भएका थिए। बरामद गाँजा र भ्यान नियन्त्रणमा लिएर फरार चालक तथा संलग्न तस्करको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्