सर्लाहीको बाँके जङ्गलमा बस र ट्रक ठोक्किँदा सात जना घाइते


eShilalekh

८ आश्विन २०८२, बुधबार १८:०३

सर्लाही: पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बुधबार दिउँसो यात्रुबाहक बस र ट्रक ठोक्किँदा सात जना घाइते भएका छन्।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्बरको बस र महोत्तरीको बर्दिवासबाट भैरहवातर्फ चामल बोकेर हिँडेको ना ६ ख २९२८ नम्बरको ट्रक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा मोरङकी २९ वर्षीया सविक्षा राई, मोरङकै ४० वर्षीया लालकुमारी श्रेष्ठ र उनकी १५ वर्षीया छोरी युनिष्का राउत, विराटनगरकी ३९ वर्षीया सविता रेग्मी र उनकी ८ वर्षीया छोरी प्रिसा भट्टराई, भारत बिहारका ३५ वर्षीय रामशरण मण्डल र मोरङ सुन्दरहरैचाका ५२ वर्षीय लोकबहादुर विक घाइते भएका छन् ।

घाइतेमध्ये सविक्षाको मोडल अस्पताल लालबन्दीमा र अन्य ६ जनाको शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा ३९ जना यात्रु सवार रहेका थिए । ठोक्किएपछि दुवै सवारी सडकको छेउमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्