बारामा अवैध सामानसहित पिकअप गाडी नियन्त्रणमा

सिमराः सशस्त्र प्रहरीले आइतबार बिहान पिकअप गाडीसहित रेडिमेड कपडा र पटका बरामद गरेको छ ।
बाराको आदर्शकोतवाल गाउँपालिका १ बोहा जमुनियास्थित भित्री सडकमार्गबाट सशस्त्र प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा रेडिमेड कपडा र पटका बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बेस क्याम्प तेलकुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोतवालीबाट लङ्गडा चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६१७६ नम्बरको पिकअप गाडी जाँच गर्दा बिल–बिजक नभएको १५ लाख ८५ हजार पाँच सय रुपैयाँ बराबरको लेडिज रेडिमेड कपडा र ५० हजार रुपैयाँ बराबरको ६० बन्डल पटका बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.का अनुसार अवैध सामान र गाडी आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।
यसैगरी बरामद पटका भने खाल्डो खनी सुरक्षित रूपमा नष्ट गरिएको उपरीक्षक के.सी.ले जनाएका छन् ।





