पर्सामा लागूऔषध चरेससहित एक जना पक्राउ

वीरगन्जः सशस्त्र प्रहरीले पर्साबाट ठुलो परिमाणमा लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको पश्चिम चम्पारण जिल्ला बेतिया कोईरी टोलका ३१ वर्षीय गुलाम मोहमद रहेका छन् ।
छिपहरमाई गाउँपालिका ४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडक खण्डमा बीआर२२जे ३५५० नम्बरको मोटसाइकल जाँच गर्ने क्रममा ९ किलो पाँच सय २२ ग्राम चरेस बरामद भएको हो ।
सशस्त्र प्रहरी प्रमुख पुरन चन्द भट्टका अनुसार मोटसाइकलमा फल्स बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको छ ।
मोहमदको साथबाट आधार कार्ड र एक थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद चरेस, मोटरसाइकल र पक्राउ परेका मोहमदलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।





