बारामा भारी वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह


eShilalekh

१८ आश्विन २०८२, शनिबार १०:४२

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले शनिबार बिहान सूचना जारी गर्दै असोज २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षतिको न्यूनीकरणका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

भारी वर्षाका कारण विशेषगरी रातीको समयमा सडक अवरुद्ध हुनसक्ने, बाढीबाट यात्रा अवरुद्ध तथा धनजनको क्षती हुनसक्ने भएकाले सवारीसाधनहरु आवश्यक नपरेसम्म नचलाउन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले सम्भावित विपद् न्यूनीकरणका लागि सबै स्थानीय तह, रेडक्रस, सरकारी तथा गैरसरकारी संस्थालाई पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेको छ । उद्धार तथा राहतका लागि आवश्यक तयारी मिलाउन, जनतालाई सतर्क राख्न र आवश्यकता परेमा तत्काल सहयोगका लागि तयारी अवस्थामा रहन स्थानीय तहलाई निर्देशनसमेत दिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले भारी वर्षा र सम्भावित विपद् न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय तथा सर्वसाधारणको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

साथै उनले डुबान, बाढी, पहिरो वा अन्य विपदजन्य घटनाको खबर तत्काल नेपाल प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी इकाइमा जानकारी गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्