सिमरा खानेपानीको निर्वाचन तालिका सार्वजनिक, मंसिर ६ गते मतदान


eShilalekh

१९ कार्तिक २०८२, बुधबार १६:१८

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले बुधबार दिउँसो कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नयाँ नेतृत्व चयनका लागि कार्तिक २० गते बिहीबारदेखि प्रक्रिया सुरु हुनेछ भने मंसिर ६ गते मतदान हुने भएको छ । १७ दिने तालिका अन्तर्गत कार्तिक २० गते अपरान्ह ४ बजे मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।

यसैगरी २२ गते दाबीविरोध र २३ गते अन्तिम नामावली प्रकाशन गर्ने गरी तालिका बनाइएको छ । निर्वाचन समितिले ११ सदस्यीय कार्यसमितिका लागि कार्तिक २५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।

विभिन्न पदका लागि परेका मनोनयनमा छानविन गरी समितिले कार्तिक २९ गते बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह उपलब्ध गराउने भएको छ ।

यसैगरी समितिले कार्तिक ३० गते नमूना मतपत्र प्रकाशन गरेलगत्तै सुरु हुने प्रचारप्रसारको समय मंसिर ४ गते राति १२ बजेसम्मका लागि तोकेको छ । उक्त समयपछि चुनाव नहुँदा मौन अवधी रहने छ ।

निर्वाचनका लागि मंसिर ६ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि समय तोकिएको छ । निर्वाचनलगत्तै समितिले मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिए ।

मतदानमा झण्डै पाँच हजार पाँच सय उपभोक्ता सहभागी हुनेछन् । समितिमा पाँच हजार भन्दा बढी बक्यौता तिर्न बाँकी रहेका उपभोक्ता मतदान प्रक्रियामा सहभागी हुने नपाउने बताइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशनपूर्व बक्यौता रकम तिर्न सकिनेछ ।

निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन समिति निर्माण गरिएको छ । अधिकारीको नेतृत्वमा गठित समितिको सदस्यमा शरदचन्द्र भट्टराई, नवराज न्यौपाने, गंगाप्रसाद मैनाली र अम्बिका घिमिरे सदस्य छन् ।

हेर्नुस तालिकाः

प्रतिक्रिया दिनुहोस्