जीतपुरसिमरामा ‘न्यानो अभियान’ निरन्तर, विपन्न परिवारलाई राहत

सिमराः बढ्दो शितलहर र चिसोबाट प्रभावित विपन्न परिवारलाई लक्षित गर्दै जीतपुरसिमराका युवाहरुले न्यानो अभियानलाई यस वर्षपनि निरन्रता दिएका छन् । ‘हुनेले दिएर जाने, नहुनेले लिएर जाने’ भन्ने नारासहित साझा अभियानका युवाहरुले न्यानो कार्यक्रम संचालन गरेका हुन् ।
युवाहरुको यो अभियान अभाव झेलिरहेका विपन्न परिवारलाई न्यानो प्रदान गर्ने माध्यम बनेको छ । अभियानमा युवाहरुले कपडा संकलनका लागि विभिन्न चोकमा काटुर्नका ठूला बाकस राखेका छन् । अभियानमा सहभागी हुन इच्छुक दाताले नयाँ तथा प्रयोगयोग्य पुरानो कपडा बाकसमा राख्ने गरेका छन् ।
उक्त बाकसमा संकलन भएको कपडा विपन्न व्यक्ति तथा परिवारले आवश्यकता अनुसार लैजान सक्नेछन् । यो अभियान प्रभावकारी बन्दै आएको छ । अभियानमा सहभागी हुन इच्छुक सहयोगीको संख्या पनि बढिरहेको युवा अमृत बस्यालले जानकारी दिएका छन् ।
कपडा संकलनका लागि युवाहरु जीतपुरसिमराको विभिन्न स्थानमा पुगिरहेका छन् । युवाहरुले सोमबार मात्रै औराह, डुमरवाना, बडहर्वा, जैतापुरलगायतका स्थानमा कार्टुनको बाकस बनाएर राखेका छन् । यसअघि उनीहरुले सिमराबाट अभियान सुरु गरेका थिए ।
साझा अभियानले न्यानो कार्यक्रम सुरु गरेको यो पाँचौ वर्ष हो । उनिहरुले प्रत्येक वर्ष चिसो मौसममा अभियान संचालन गर्दै आएका छन् ।





