निःशुल्क कपडा बैंकद्वारा कलैयामा न्यानो कपडा वितरण


eShilalekh

१४ पुष २०८२, सोमबार १९:०९

सिमरा: ग्रामीण उत्थान अभियान संस्थाद्वारा स्थापित निःशुल्क कपडा बैंकको आयोजनामा सोमबार कलैयाको भरत चौकमा असहाय, विपन्न तथा गरिब समुदायलाई लक्षित गरी कपडा वितरण गरिएको छ ।

चिसो मौसम बढ्दै गइरहेको अवस्थामा सडकमा आश्रित व्यक्ति, मजदुर, वृद्धवृद्धा र आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै निःशुल्क कपडा बैंकका अध्यक्ष मोकद्दम अन्सारीले समाजमा रहेका सम्पन्न व्यक्तिहरूले प्रयोग नगरेका तर प्रयोगयोग्य कपडा सहयोग गरेमा गरिब तथा असहाय वर्गका लागि ठूलो राहत पुग्ने बताए। उनले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कपडा वितरण कार्यक्रममा स्थानीय युवा, स्वयंसेवक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कपडा पाएपछि लाभग्राहीहरूले आयोजकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले चिसो मौसममा ठूलो सहारा मिलेको प्रतिक्रिया दिएका छन्।

निःशुल्क कपडा बैंकले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी समाजका कमजोर वर्गको जीवन सहज बनाउने उद्देश्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको कपडा बैंकका संरक्षक साजिर मन्सुरले जानकारी दिएका छन्।

उक्त अवसरमा कलैया उपमहानगरपालिका, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, ग्रामीण उत्थान अभियानकी अध्यक्ष माधुरी गिरि, समृद्ध अभियानका अध्यक्ष लिला चौधरी, कलैया ज्ञान बाटिका बोर्डिङ स्कुल परिवारका प्रधानाध्यापक वीरेन्द्र चौधरीलगायत दिलिप यादव, साजन चौधरी, अखलेश यादव, सिताराम पटेल, रनिता शर्मा, निशा केशरी, मङ्गिता राम, अङ्गुरी प्रविण, अन्जली पटेल, गङ्गा चौधरी र माधुरी गिरिले वितरण कार्यमा सहयोग गरेका थिए।

निःशुल्क कपडा बैंकका अनुसार सोमबार करिब दुई हजारभन्दा बढी कपडा वितरण गरिएको छ। यस अभियानमा टेवा धापाखेल ललितपुर, पोशाक इम्पोरियम, लायन्स क्लब अफ कलैया सिटी, ओम शान्ति कलैया, डा. कमरुलहक अस्पताल कलैया, समृद्ध अभियान कलैया, विश्वास एफएम कलैया तथा अन्य दाताहरूको सहयोग रहेको छ। अध्यक्ष अन्सारीले शितलहरको यस समयमा सहयोग गर्न सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्