बारामा १४५ मतदान स्थल अति संवेदनशील

सिमराः प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले बाराको एक सय ४५ मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखेको छ । जिल्लाको तीन सय पाँच मतदान स्थलमध्ये झण्डै आधा मतदान स्थललाई प्रहरीले अति संवेदनशीलको सूचिमा राखेको हो ।
यसैगरी एक सय आठ स्थल संवेदनशील र ५२ स्थललाई सामान्य अवस्थामा राखिएको छ । पूर्वाधारका भौगोलिक अवस्था र पूर्वाधारलाई आधार बनाउँदै प्रहरीले मतदानस्थलको वर्गिकरण गरेको हो ।
संवेदनशीलताका आधारमा प्रहरीले सुरक्षा रणनीति अपनाउने छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले वर्गिकरण अनुसार सुरक्षाकर्मी परिचालन गरिने बताए ।
बाराको तीन सय आठ मतदानस्थलमा पाँच सय ८७ मतदान केन्द्र छन् । जिल्लाभर निर्वाचन सम्पन्न गर्नका लागि करिब एक हजार ६ सय नेपाल प्रहरी, दुई हजार ६ सय ३८ निर्वाचन प्रहरी परिचालन हुँदैछन् । निर्वाचनका लागि सात जना प्रहरी नायब उपरीक्षक, १३ जना प्रहरी निरीक्षकसहित सात सय ६३ प्रहरी थप मद्यतका लागि आएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरीको छुट्टै सुरक्षा टोली परिचालन हुनेछन् ।






