निर्वाचन अवधिभर बारासहित विभिन्न जिल्लामा मदिरा निषेध

सिमराः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाराले विशेष सुरक्षा आदेश जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरामण भट्टराईद्वारा जारी सूचना अनुसार निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाभर मदिराको बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाइएको छ । यो निषेधाज्ञा फागुन १५ गतेदेखि सुरु भई निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि लागु रहने प्रशासनले जनाएको छ ।
निर्वाचनको समयमा सीमावर्ती क्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्मका लागि बारा जिल्लासँग जोडिएका नेपाल भारत सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहनेछन् । यस अवधिमा सीमाबाट हुने सबै प्रकारका आवागमन ठप्प रहनेछ ।
त्यसैगरी मतदानको दिन फागुन २१ गतेको सुरक्षाका लागि फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य नसकिएसम्म अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स, दमकल, दुध र औषधि बोकेका सवारी साधन, खानेपानीका ट्याङ्कर, दूरसञ्चार, अस्पताल र सुरक्षा निकायका सवारी साधन भने निर्वाध सञ्चालन हुन पाउनेछन् ।
कूटनीतिक नियोगका सी.डी. नम्बर प्लेट भएका र अनुमति प्राप्त सवारी साधनलाई पनि सञ्चालनको छुट दिइएको छ ।प्रशासनले यो आदेश उल्लंघन गर्ने जोकोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
यसैगरी बारासहित पर्सा र रौतहटका जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै जिल्लाभर मदिराको बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाएको छ ।







