धनुषामा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला


eShilalekh

१५ फाल्गुन २०८२, शुक्रबार १७:४०

धनुषाः धनुषाको औरही गाउँपालिका ६ मा विभत्स ढंगले हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक धनुषाको हंसपुर नगरपालिका ९ रुदौलीका २० वर्षीय सुमित मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेशबहादुर बमका अनुसार बिहीबार बेलुका घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । घटनाको प्रकृति हेर्दा मण्डलको हत्या गरी फालेको हुनसक्ने देखिएको छ ।

पारिवारिक स्रोतका अनुसार मृतक मण्डल बुधबार साँझ आफ्नो मोटरसाइकल लिएर घरबाट निस्किएका थिए । घरबाट निस्किएपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन् । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार उनी मृत फेला परेका हुन् ।

मण्डलको हत्या बुधबार राति नै भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा संलग्नहरूको खोजी र थप अनुसन्धान कार्यलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्