सुमित हत्या प्रकरणः प्रेम सम्बन्धकै कारण हत्या, प्रेमिकासहित तीन पक्राउ

धनुषा: धनुषाको औरही गाउँपालिका ६ मा भएको सुमित मण्डलको बीभत्स हत्या प्रेम सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। धनुषा प्रहरीले शुक्रबार यस घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा सुमितसँग प्रेम सम्बन्धमा रहेकी हंसपुर नगरपालिका ६ की १८ वर्षीया काजलकुमारी मण्डल, २० वर्षीय दिपेशकुमार मण्डल र २९ वर्षीय परमेश्वर मण्डल रहेका छन्।
बिहीबार दिउँसो औरहीको एक खेतमा घाँटी रेटिएको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा सुमितको शव फेला परेको थियो।
प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार बुधबार काजलको घरमा कोही नभएको मौका छोपी सुमित उनलाई भेट्न पुगेका थिए। सोही क्रममा काजलका काका परमेश्वरले सुमितलाई घरभित्रै फेला पारेपछि नियन्त्रणमा लिएका थिए।
त्यसलगत्तै परमेश्वरले काजलका दाई दिपेशलाई बोलाएर सुमितको हात पछाडिबाट डोरी र गम्छाले बाँधी निर्घात कुटपिट गरेका थिए। कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखेर घरबाट करिब डेढ किलोमिटर टाढा लगी खेतमा खुकुरीले घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले हत्यामा प्रयोग गरिएको खुकुरी, मोटरसाइकल र अन्य सामग्रीहरू समेत बरामद गरी थप कानुनी कारबाही अगाडि बढाएको छ।







