बारामा निर्वाचन सुरक्षा कडाः सेनाद्वारा बख्तरबन्द गाडीसहित गस्ती सुरु

सिमराः फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बाराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
निर्वाचनका समयमा हुन सक्ने सम्भावित अवाञ्छित र उच्छृङ्खल गतिविधिहरूलाई नियन्त्रण गर्न नेपाली सेनाले जिल्लाका विभिन्न संवेनदशील क्षेत्रहरूमा बख्तरबन्द गाडीसहितको विशेष गस्ती सुरु गरेको हो ।
सुरक्षा निकायका अनुसार मतदाताहरूले कुनै डर र त्रास बिना निर्धक्क रूपमा मतदान गर्न सक्ने वातावरण निर्माण गर्न र जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन सेनाको उपस्थिति बढाइएको हो ।
मधेश प्रदेशको विशेष सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मुख्य व्यापारिक केन्द्र, रणनीतिक राजमार्गहरू तथा ग्रामीण भेगहरूमा निगरानीलाई तीव्र पारिएको छ ।
हाल बाराका चारै वटा निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा सुरक्षा गस्ती सञ्चालन गरिरहेका छन् । निर्वाचन अवधिभर पूर्ण शान्ति सुनिश्चित गर्न सबै सुरक्षा संयन्त्रहरूलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई कुनै पनि किसिमको भ्रामक अफवाहमा नलाग्न आग्रह गर्दै आफ्नो टोल छिमेकमा शंकास्पद गतिविधि वा व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराएर सहयोग गर्न अपिल समेत गरेको छ ।






