निर्वाचनका लागि आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिँदै


eShilalekh

१७ फाल्गुन २०८२, आईतवार २०:४९

सिमराः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्नका लागि आज (आइतबार) राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द हुने भएको छ ।

निर्वाचन सुरक्षा निर्देशिकामा भएको प्रावधान बमोजिम मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्न लागिएको हो । आइतबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि सीमा जोडिएका जिल्लाहरूमा आवतजावत ठप्प पारिनेछ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार सुरक्षा निर्देशिकाको पालना गर्दै सीमा नाका बन्द गराउन सरकारलाई आवश्यक सिफारिस गरिसकिएको छ । आयोगले निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यो कदम चालेको हो ।

यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोगले सम्बन्धित सबै निकायलाई अनुरोध गर्दै सुरक्षा सतर्कता समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्