बारामा निर्वाचनको तयारी तीव्र, कर्मचारीहरु आ–आफ्नो कार्यक्षेत्रमा परिचालन


eShilalekh

१९ फाल्गुन २०८२, मंगलवार १२:३३

सिमराः बारामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रका पाँच सय ८७ मतदान केन्द्रहरूमा मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मीहरू सोमबार नै आवश्यक निर्वाचन सामग्रीसहित पुगिसकेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, सुरक्षण सिल र स्वस्तिक छापलगायतका सामग्री बुझेर टोलीहरू आ–आफ्नो कार्यक्षेत्रमा परिचालन भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी राजकुमार दहालका अनुसार मतदान स्थलमा पुगेका कर्मचारीहरूले हाल सूचना टाँस गर्ने, आचारसंहिताको अनुगमन गर्ने र मतदान केन्द्र वरपर रहेका राजनीतिक दलका प्रचार सामग्री हटाउने जस्ता प्रारम्भिक तयारीका कामहरू गरिरहेका छन् ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्लाभर तीन हजार पाँच सय २२ जना कर्मचारी परिचालन गरिएको छ । जसमध्ये पाँच सय ८७ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत रहेका छन् ।

यसका अतिरिक्त बारा ३ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको अस्थायी मतदान स्थलका लागि थप ६ जना कर्मचारी खटाइएको छ ।

बाराका चार निर्वाचन क्षेत्रमा एक सय १० जना उम्मेदवारहरू चुनावी मैदानमा छन् भने ४७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यसैगरी जिल्लामा कुल चार लाख ६५ हजार सात सय ८४ मतदाता रहेका छन् । जसमध्ये महिलाको संख्या दुई लाख १० हजार ९, पुरुषको संख्या दुई लाख ५५ हजार सात सय ६३ र अन्य मतदाता १२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्