रहबरले भने ‘अपेक्षा अनुसारको नतिजा आएको छ’

सिमरा : मधेश प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका रहबर अन्सारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका अन्सारीले फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन्।
अन्सारीले २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई २९ हजार पाँच सय ६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्। अन्सारीले कुल ४१ हजार दुई सय मत प्राप्त गर्दा श्रेष्ठले ११ हजार ६ सय ३९ मत पाए।
श्रेष्ठले अघिल्लो २०७९ सालको निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले जित हात पारेका थिए। तर यसपटक भने नेकपा माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका अन्सारीले उनलाई पराजित गरेका हुन्।
अन्सारी २०७९ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १ (१) बाट नेकपा माओवादी केन्द्रका तर्फबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर बारा ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए।
प्रदेशसभामा माओवादी केन्द्रबाट विद्रोह गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत गुमाएका थिए, जसका कारण उनले पदबाट राजीनामा दिनुपरेको थियो। सोही घटनापछि चर्चामा आएका अन्सारी अहिले मुख्यमन्त्री सोनल मतदाता रहेको क्षेत्रमै आएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
बारा ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले अन्सारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, प्रहरी उपरीक्षक रामेश्वर पौडेल, प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कंडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीलगायतले बधाई दिएका थिए।
प्रमाणपत्र बुझ्दै अन्सारीले पार्टीको बढीभन्दा बढी सिट जित्ने लक्ष्यअनुसार आफू बारा आएको बताए। उनले अपेक्षाअनुसार फराकिलो मतान्तरले विजयी भएको प्रतिक्रिया दिए।
मतगणना सुरु भएदेखि नै अन्सारीले अग्रता कायम राखेका थिए। क्षेत्रका ३८ वडामध्ये ३६ वडामा अन्सारीले अग्रता लिए भने दुई वटामा एमाले उम्मेदवार श्रेष्ठले अग्रता लिएका थिए।
अन्य उम्मेदवारमध्ये जसपा नेपालका सन्जु साह कानुले सात हजार पाँच सय ९३ मत, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार एक सय १३ मत तथा नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहाले दुई हजार ६७ मत प्राप्त गरेका छन्।






