एमाले उम्मेदवार श्रेष्ठले अन्सारीलाई फोन गरेर दिए बधाई, सहकार्यको प्रतिवद्धता


eShilalekh

२३ फाल्गुन २०८२, शनिबार १५:२९

सिमरा : बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहबर अन्सारीलाई नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले फोन गरेर बधाई दिएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि श्रेष्ठले अन्सारीलाई विजयी भएकोमा बधाई दिँदै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्। चुनावी प्रतिस्पर्धा भए पनि क्षेत्रको विकासका लागि सहकार्य गर्न आफू तयार रहेको श्रेष्ठले बताएका छन्।

यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्सारीले श्रेष्ठलाई २९ हजार पाँच सय ६१ मतान्तरले पराजित गरेका थिए। अन्सारीले ४१ हजार दुई सय मत प्राप्त गर्दा श्रेष्ठले ११ हजार ६ सय ३९ मत पाएका थिए।

अन्सारी २०७९ सालमा पर्सा क्षेत्र नं. १ (१) बाट नेकपा माओवादी केन्द्रका तर्फबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर बारा ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए।

मतगणना सुरु भएदेखि नै अन्सारीले अग्रता कायम राखेका थिए। क्षेत्रका ३८ वडामध्ये ३६ वडामा अन्सारीले अग्रता लिएका थिए भने दुई वडामा मात्रै श्रेष्ठले अग्रता लिएका थिए।

अन्य उम्मेदवारमध्ये जसपा नेपालका सन्जु साह कानुले सात हजार पाँच सय ९३ मत, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार एक सय १३ मत तथा नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहाले दुई हजार ६७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्