बारामा रास्वपाको ‘क्लिन स्वीप’, क्षेत्र नं. २ मा चन्दन कुमार सिंह विजयी

सिमरा: बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन कुमार सिंह विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले ३५ हजार पाँच सय ९० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीभन्दा २१ हजार तीन सय ९४ मतान्तरले जित हात पारेका हुन् ।
दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामकिशोर यादवले १४ हजार एक सय ९६ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका भैयाराम यादवले ११ हजार आठ सय ३७, नेकपा एमालेका बलबीर चौधरीले सात हजार दुई सय १३ मत प्राप्त गरेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहाले एक हजार तीन सय ९६, नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार यादवले ९ सय १०, जनमत पार्टीका राजेश साहले ६ सय ६८ मत प्राप्त गरेका छन् ।
यससँगै बाराका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ।
यसअघि बारा क्षेत्र नं. १ मा गणेश धिमाल, क्षेत्र नं. ३ मा अरविन्द साह र क्षेत्र नं. ४ मा रहबर अन्सारी निर्वाचित भइसकेका छन् । धिमालले ३९ हजार ९ सय ९८, साहले ४० हजार ६ सय ९७ र अन्सारीले ४१ हजार दुई सय मत प्राप्त गरेका थिए।






