वीरगन्ज सडक विस्तारको कानुनी अन्योल अन्त्यः सर्वोच्चद्वारा रिट खारेजीको पूर्ण पाठ सार्वजनिक


eShilalekh

२४ फाल्गुन २०८२, आईतवार १८:२४

वीरगन्जः वीरगन्जको गण्डकदेखि मितेरीपुलसम्मको मुख्य सडक (मेनरोड) विस्तारका लागि कानुनी बाटो पूर्ण रूपमा खुलेको छ ।

सर्वोच्च अदालतले सडक विस्तार विरुद्ध परेको रिट निवेदन खारेज गरेको फैसलाको पूर्ण पाठ आइतबार सार्वजनिक गरेसँगै लामो समयदेखिको अन्योल अन्त्य भएको हो ।

न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत वर्ष फागुन २८ गते नै रिट खारेज गर्ने निर्णय गरे पनि त्यसको विस्तृत व्याख्यासहितको पूर्ण पाठ आउन एक वर्ष लागेको हो । अदालतले मेनरोडका घर र जग्गाधनीहरूले राखेको सम्पत्तिको हक र क्षतिपूर्तिको मागलाई अस्वीकार गरेको छ ।

यसअघि महानगरपालिकाले सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने संरचना हटाउन सुरु गरे पनि २४ जना जग्गाधनीहरूले प्रधानमन्त्री कार्यालय र सडक विभाग लगायतलाई विपक्षी बनाएर पुनः उत्प्रेषण मुद्दा दर्ता गराएपछि काम रोकिएको थियो ।

वीरगन्ज १२ का शिवजी कलवार, वीरगन्ज ८ की सुशीला देवी रौनियार, वीरगन्ज १२ की मनोती देवी रौनियार, वीरगन्ज १६ का चन्द्रनारायण सिंह, वीरगन्ज १० का राजकिशोर गुप्ता, वीरगन्ज ८ का गोविन्द प्रसाद अग्रवाल, वीरगन्ज ८ का राजेशकुमार रौनियार लगायतले गत असार ३२ गते सर्वोच्चमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दामा अवरोध सिर्जना भए पनि अब सडक विभाग र वीरगन्ज महानगरपालिकालाई विस्तार कार्य अगाडि बढाउन बलियो कानुनी आधार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्