पर्सामा जन्ती बोकेको कार दुर्घटना: चालकको मृत्यु, एक गम्भीर घाइते

वीरगन्ज: पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित गण्डक नहर सडकखण्डमा सोमबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०५ बीएल ०६४५ भारतीय नम्बर प्लेट को कार अनियन्त्रित भई नहरको डिलमा रहेको पीपलको रुखमा ठोक्किएको थियो।
प्रहरीका अनुसार बहुदरमाई नगरपालिका ८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गर्दा भएको दुर्घटनामा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटना लगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी बाराको नौतनस्थित एल.एस. न्युरो अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा चालकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । मृतक चालकको नाम र ठेगाना भने अझै खुल्न सकेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






