पर्सामा दुई क्विन्टलभन्दा बढी गाँजासहित ट्याक्टर नियन्त्रणमा


eShilalekh

२६ फाल्गुन २०८२, मंगलवार १३:५९

वीरगन्जः पर्साको जगरनाथपुर गाउँपालिका ४ बाट प्रहरीले सोमबार राति ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुई सय १३ किलो गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिका १ को सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरिएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

सोनवर्षाबाटै ट्याक्टरलाई पछ्याउँदै गएको प्रहरी टोली जगरनाथपुर ४ मा पुग्दा तस्करहरूले गाँजासहितको ट्याक्टर सडकमा छोडेर फरार भएका थिए । प्रहरीले बरामद गरेको उक्त ट्याक्टर र गाँजा हाल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ ।

ट्याक्टरका धनी तथा संलग्न तस्करहरू सोनवर्षा गाउँकै रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि उनीहरूको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन ।

हाल फरार रहेका चालक, ट्याक्टर धनी तथा उक्त तस्करीमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्