सिराहामा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

सिरहाः सिराहाको औरही गाउँपालिका ५ स्थित नेपाल–भारत सीमा नजिकैको पोखरीमा बुधबार मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मृतक महिला औरही ५ की २२ वर्षीया श्रीमती खुश्वु यादव रहेकी छन् ।
मृतककी सासू चन्द्रकला यादवले शवको सनाखत गरेकी हुन् । शवको पोस्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पतालबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानका अनुसार खुश्वु मंगलबार दिउँसो घाँस काट्न बोरा र हँसिया लिएर घरबाट निस्किएकी थिइन् । औरही गाउँपालिकाका पूर्वअध्यक्ष सिद्धार्थ यादवको कुखुरा फार्म नजिकैको पोखरीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन् ।
घटनास्थलको डिलमा उनको बोरा, हँसिया र चप्पल भेटिएको थियो । मृतकका श्रीमान् सरोजकुमार यादव वैदेशिक रोजगारीमा रहेको र खुश्वु प्रायः माइतीमै बस्ने गरेको बुझिएको छ । उनी करिब १५ दिनअघि मात्र ससुराले लिन गएपछि घर फर्किएकी थिइन् ।
मृतकको नाकबाट रगत देखिएकाले स्थानीयले अन्यत्रै हत्या गरी पोखरीमा फालिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि प्रहरीले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने जनाएको छ ।






