मधेसमा दुर्घटनाः तीन वर्षमा १४ सय भन्दा बढीको मृत्यु, २९ हजार घाइते

जनकपुरधाम: सवारी साधन प्रयोगमा बढ्दो लापरबाही, तीव्र गति, सडकको अवस्था, सडक सचेतनाको कमीका कारण मधेश प्रदेशमा सवारी दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ। जसका कारण बर्सेनि हजारौं मानिसले अकालमै ज्यान गुमाउनुपरेको छ ।
मधेस प्रदेशका आठ जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक हजार चार सय तीन जनाको मृत्यु भएको छ भने २९ हजार ६ सय ३० जना घाइते भएका छन्। सोही अवधिमा १८ हजार दुई सय ६७ वटा सवारी दुर्घटना भएका छन्। मधेस प्रदेशमा पछिल्लो तीन वर्षमा १७ हजार आठ सय ४४ वटा मोटरसाइकल दुर्घटना भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहका अनुसार सडक दुर्घटना बढ्नुमा चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन तथा सुरक्षा सतर्कताको कमी मुख्य कारण हो । सडकमा सवारीबीचको तिव्र प्रतिस्पर्धा, अनियन्त्रित गति, जिर्ण सडक, चालक र पैदल यात्रुको लापरवाही, सडक प्रयोगमा चेतनाको कमीसहित विविध कारणले दुर्घटना हुने गरेको सिंहको भनाई छ ।
पछिल्लो तीन वर्षमा ४४ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको भएपनि चालकले सिकेका कुरा व्यवहारमा लागू गर्न नसकेको दुखद् उदाहरण रहेको सिंहले बताए ।
पाँच दिन अघि सडकमा तिव्र गतिमा प्रतिस्पर्धा गर्दै गुडिरहेका दुई वटा यात्रुबाहक बसलाई नियन्त्रणमा लिई कारवाही गरेको घटनाले पनि चालकको लापरवाही देखिन्छ । वीरगन्जबाट छुटेका दुई यात्रुबाहक बस सिमरास्थित सडकमा तिव्र गतिमा प्रतिस्पर्धा गर्दै गुडिरहेको अवस्थामा भेटेपछि ट्राफिक प्रहरीले उक्त दुबै बसलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका दुबै बसका चालकलाई यस्तो गतिविधि नदोहोर्याउन चेतावनी दिँदै कारवाही गरी पठाएको प्रवक्ता सिंहले बताए ।
प्रदेशभित्र पछिल्लो तीन वर्षमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने पाँच लाख ३० हजारभन्दा बढी चालकलाई कारबाही गरिएको छ। कारबाहीबाट सरकारले ४७ करोड ९४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।






